हाम्रो बारेमा

यो कुनै ‘न्यूज पोट्रल’ होइन, यो त केबल नेपाल र नेपालीत्वलाई माया गर्नेहरुको एक दस्तावेज हो ।

स्वाभिमान अभियान
स्वाभिमानी नेपालीहरुको विश्वव्यापी स्वतन्त्र अभियान !

जय स्वाभिमान !
प्रिय साथी, सवभन्दा पहिला यो एउटा अठोट हो । संकल्पको शंखघोष । मातृभूमिमा एक वास्तविक परिवर्तन उब्जाउनका लागि संसारभर छरिएर रहेका नेपालीहरुले सुरु गरेका स्वाभिमानको एक ऐतिहासिक स्वतन्त्र अभियान । देशभित्र र बाहिरबाट एक साथ काँधमाकाँध मिलाएर वर्षौंदेखिको जब्बर अपरिवर्तन, निरीहता र परनिर्भरताहरुलाई पल्टाइदिने उदेश्यसाथ सुरु भएको यो अभियानलाई हामीले दिएको नाम हो ‘स्वाभिमान अभियान’ ।

मातृभूमिमा हुनुहुन्छ वा पृथ्वीको जुनकुनै ध्रुवमा । जहाँसुकै भएपनि हामीलाई तपाईंको साथ, सहयोग र समय अनि अठोट, संकल्प र सक्रियता चाहिएको छ । धेरै भयो हामी थोपाथोपा र सानासाना खहरेहरु भएर बगेको, धेरै भयो हाम्रा प्रयासहरु अज्ञात विलीन भएको, खेर गएको वा सँस्थागत हुन नसकेको ! अब एउटै भेल भएर बग्नु छ, एउटा खास धक्का सिर्जना गरेर स्वाभिमानपूर्ण परिवर्तनको रचना गर्नु छ । मातृभूमिमा वास्तविक परिवर्तन दिनका लागि, आमाको मुहारमा स्वाभिमानको उज्यालो दिनको लागि एक पटक हामीले सवैतिरबाट खास बल लगाउनु छ । तपाईं जहाँ भएपनि केही समय यो अभियानका लागि शब्द, आवाज र सक्रियता दिनुभयो भने हामीले नै कोर्ने छौं स्वाभिमानको नयाँ इतिहास । र, यसैका लागि यो अभियानको जन्म भएको हो ।

यो एउटा यस्तो अभियान हो जसमा कुनै पक्षबिपक्ष छैन । लक्ष्य एउटै छ स्वाभिमान । नेपाली भएर नेपालमै बाँच्न सकौं स्वाभिमानसाथ । हरप्रकारका परनिर्भरतालाई परास्त गरेर स्वाभिमानी शीर उच्च राखी बाँच्न सकौं । स्वाभिमान–समृद्धीः देश र नागरिक ।

देशका लागि केही गरौं भन्नेहरु, गर्नेहरु र भलो चिताउनेहरुको अभियान हो यो । यस अभियानका मुख्य दुई पिल्लरहरु छन्ः

  • स्वाभिमान
  • समृद्धि

हामीले खोजेको स्वाभिमान ठीक आजको परिस्थितीबिपरीत छ । अर्थात्, जसरी आज नेपालको हरक्षेत्र यसो भनौं प्रत्येक क्षेत्र परनिर्भर छ यसबिपरीत हामीले हाम्रो पहिलो गन्तब्य आत्मनिर्भरता भनेका छौं । आत्मनिर्भरताको रेखालाई हामीले स्वाभिमानको पहिलो गन्तब्य बनाएका छौं । र, यसका लागि तपाईं हरेकको विचार, दृष्टिकोण, सक्रियता, सुझावको सम्मान गर्दैै अघि बढ्नेछौं । त्यसैले हाम्रो पहिलो र यक्ष सवाल यही हो कि, आत्मनिर्भरताको रेखासम्म पुग्न स्वाभिमानका अनेकौं शीर्षकमा लडाईंहरु सुरु हुनेछन् ।

जस्तो कि,
राजनीतिक क्षेत्रको परनिर्भरता परास्त गर्न
कृषि क्षेत्रको परनिर्भरता समाप्त पार्न
शिक्षा, स्वास्थ्य, मिडिया, उद्योग, कलकारखाना … हरक्षेत्रमा सयौं वर्षदेखि रहेको परनिर्भरता समाप्त पार्न‘ यो अभियानको पहिलो लडाईं र गन्तब्य हुनेछ ।

इतिहासको संगीन घडीमा यो त्यस्तो नागरिक अठोट हो जसले भन्छ “अब देश हामी बनाउँछौ” र, यसलाई विश्वव्यापी स्वतन्त्र अभियानका रुपमा फैलाउँदै जान्छौं । यो कुनै पार्टी, जात, धर्म, भूगोलभन्दा धेरैधेरै माथिको अभियान हुनेछ र यस अभियान अन्तरगत हामी संसारको जहाँसुकैबाट भएपनि सकारात्मक (सानाठूला) कर्म गर्दै जाने छौं ।

स्वाभिमानी नागरिक समूह गठन
देशभित्र वा बाहिर जहाँ भएपनि तपाईंले स्वतन्त्ररुपमा स्वाभिमानी नागरिक समूह निर्माण सक्नुहुन्छ र त्यसमार्फत् सानाठूला कामको सुरुवात गर्न सक्नुहुन्छ । जस्तो कि, तपाईं नेपालभित्र हुनुहुन्छ र कुनै स्थानविशेषलाई प्रतिनिधित्व गर्ने समूह बनाउँदै हुनुहुन्छ भने,

स्वाभिमानी नागरिक समूह (स्थानको नाम)
नारा : समृद्ध नेपाल, स्वाभिमानी नेपाली
उदेश्य : समृद्ध नेपाल, स्वाभिमानी नेपाली

यसरी समूह बनाइसकेपछि तपाईं आफ्नो क्षेत्रको मौलिकता अनुसारका सिर्जनात्मक गतिबिधिहरु सुरु गर्न सक्नुहुन्छ ।

जस्तो कि, स्वाभिमानी कृषि अभियान : यस अन्तरगत तपाईं आफ्नो गाउँठाउँलाई कम्तीमा कुनै एक उत्पादनमा आत्मनिर्भर बनाउन आफू खटिनुहुनेछ, अरुलाई खटाउनुहुनेछ र फेरि भनौं कम्तीमा एक उत्पादनमा तपाईंले आफ्नो गाउँलाईं स्वाभिमानी गाउँ घोषणा गर्न सक्नुहुन्छ । कृषिमा स्वाभिमानी गाउँ । अनि त्यस्ता मिहेनती एक किसानलाई स्वाभिमानी किसानका नामबाट सम्मान दिन हामी किन पछि पर्ने ?

यस्तैयस्तै गरी शिक्षा, स्वास्थ्य, राजनीति नै वा समाजका अरु बिबिध क्षेत्रमा सानासाना परिवर्तनका झिल्काहरु बटुलेर हामी ‘ठूलो आगो’ बाल्ने सोचमा छौं ।
यसका साथै तपाईंको मौलिक सोचहरुको सदैव कदर हुनेछ ।

नेपालबाहिर हुनुहुन्छ भने, पनि यस्ता कतिपय कामहरु गर्न सकिन्छ । तर, अलि बढि सचेत हुनुपर्ने विषय के छ भने विदेशमा रहेका लाखौं नेपालीलाई “आफ्नो स्वाभिमान” को बोधसहित स्वदेशमा रोजगारीको वातावरण तयार गर्दै मातृभूमि फर्काउने इतिहासको सवभन्दा महत्वपूर्ण र महत्वकांक्षी अभियानका रुपमा यसलाई विकास गर्ने योजना बमोजिम अलि गम्भीर र खास कामहरु गर्दै जानु छ । यसका लागि नेपालबाहिरका सबैजसो देश (जहाँजहाँ नेपालीहरु छन्) मा स्वाभिमानी नागरिक समूहहरुको गठन गर्दै र त्यस्तो समूहमा रहनेहरुले स्वदेश फर्किन चाहनेहरुसँग समन्वय गर्दै र नेपालमा रहेको समूहसँग समेत समन्वय गर्दै काम गर्नेछ । फर्किएकाहरुलाई नेपालमा रोजगारीकोे व्यवस्था गर्नका लागि निजी क्षेत्र र सरकारसँगको समन्वयमा नेपालमा रहेको टीमले भूमिका निर्वाह गर्नेछ । यो अभियानको सवभन्दा महत्वकांक्षी यस कामका लागि संयन्त्रहरु बनाएर अघि बढिनेछ ता कि विदेशमा सिकेको शिक्षा र सीपको उपयोग कसरी गर्न सकिन्छ ? नेपालमा रोजगारीका लागि कसरी समन्वय गर्न सकिन्छ ? जसले व्यक्ति र देशको स्वाभिमानमा शान देओस् ।

जय स्वाभिमान
सम्पर्क: jayaswabhimaan@gmail.com