जहाँ पुगोस् एउटा नेपाली : उसले आफ्नो मातृभूमिको गुनगान गाएकै हुन्छ, आमाको सम्मानमा केही शब्द बोलेकै हुन्छ, पूजा गरेकै हुन्छ जननीको ! व्यक्त गर्न सके पनि नसकेपनि मनमा आफ्नो देशको भाव-झंकार गुन्जाइरहेको हुन्छ ।
नोभेम्बर २ तारिक, शनिबार अमेरिकाको एटलान्टामा संसारका थुप्रै देशका मानिसहरु र तिनको पहिचानसहितको प्रस्तुतिबीच एक विशेष कार्यक्रमको आयोजना भयो जहाँ नेप्लिज एसोशियसन अफ जर्जियाका प्रेसिडेण्ट कुमार केसी अनि विश्व हिन्दू महासंघ, अमेरिकाका अध्यक्ष किरण श्रेष्ठले देश, पहिचान र सँस्कारको बारेमा थुप्रै देशका मानिसहरुबीच नेपालको प्रचार प्रसार गर्नुभयो । उहाँहरुले मानिसहरुलाई आफ्नो देश, धर्मसँस्कार र पहिचानको सत्य सुनाईरहँदा विश्वका धेरै देशका मानिसहरुले नेपालप्रतिको आकर्षण बढाइरहेका थिए, प्रश्नहरु गरिरहेका थिए र उत्सुक्ताका साथ जीवनमा एक पटक नेपाल जाने चाहना व्यक्त गरिरहेका थिए ।
संसारको सुन्दर मुलुक नेपाल र नेपालीहुनुको गर्वमा संसारका अरु थुप्रै देशहरुबीच नेपालको प्रतिनिधित्वसहित भएको यो एक विशेष कार्यक्रम हो जहाँ नेपालको अतुलनीय सौन्दर्य, सँस्कार र पहिचानको प्रशंसा भयो । धेरै मानिसहरु नेपालप्रति आकर्षित भए । उनीहरुले आफ्नो जीवनकालमा नेपाल घुम्न जानुपर्ने ठाउँ भनी सुचिकृत गरेका छन् ।
‘ए टेस्ट अफ वर्ल्ड कल्चरल अवेरनेश डे’ को अवसरमा आयोजित कार्यक्रममा नेपालसँगै भारत, ब्राजिललगायत विश्वका कतिपय देशका साँस्कृतिक, भौगोलिक पहिचानबारे प्रस्तुति, बहस र अन्तरक्रिया भएको थियो । कार्यक्रमको आयोजना डेल्टा सिग्मा थेटा सोरोरिटीले गरेको हो ।