नेपाल र नेपालीत्वका खातिर खास-खास परिस्थितीहरुमा न्यूयोर्क ‘नेपालीत्व’ बोल्दछ । नेपाललाई चोट लाग्दा वा नेपालीमाथि कहीँकतैबाट अन्याय हुँदा विशेष परिस्थितीहरुमा न्यूयोर्क जुरुक्क उठ्छ र बोल्छ ! जस्तो कि भारतले नेपालमा नाकाबन्दी गरेका वेला । गौतम वुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारलाई सुनाउनुपरेका वेला । न्यूयोर्क बोल्छ, यसको अर्थ अमेरिकी सरकारै बोल्छ वा संसारै बोल्छ; त्यस्तो केही होइन, हुनचाही सक्छ । तर, यहाँ न्यूयोर्क बोल्छको अर्थ हो न्यूयोर्क वा अमेरिकामा वसोवास गर्दै आएका हजारौं नेपालीहरु तिनको हृदयमा भएको नेपालित्व लिएर संयुक्त राष्ट्रसंघको प्रांगणमा पुग्छन् र संसारलाई सुनाइदिनू ‘नेपाल र नेपालीमाथि अन्याय भइरहेको छ’ भनेर आवाज अनि अक्षरको प्रक्षेपण गर्दछन् ।
इतिहासमा एक पटक फेरि न्यूयोर्क बोल्दैछ नेपालका खातिर, नेपालीभूमि रक्षार्थ । सोमबार, जनवरी १३ तारिक, राष्ट्रसंघको मुख्यालयअघिल्तिर उभिएर नेपालीत्व बोल्नेछ । र, यो कुनै याचना हुने छैन कसैसामु न त नेपालको छिमेकी भारतको बिरोध, न त नेपाल सरकारको । यो त एक सकारात्मक दबाब हुनेछ दुवै देशका लागि । किनकी सिमाना कुनैपनि देशका लागि एक गम्भीर विषय हो । र, भारतले नोभेम्बर २ तारिकका दिन प्रकाशित गरेको नक्सामा नेपालको ३ सय ७२ वर्गकिलोमिटर जमिन नै उसको नक्सामा पारेर गम्भिर त्रुटि गरिसकेपछि पनि किन यत्तिका समयसम्म दुवै देशका सरकारहरुले खास र विशेष प्रयास गरेनन् ?? तत्काल चासो दिएर तत्काल समाधानको पहल गर्नुपर्ने यति गम्भीर विषय किन पर-पर पन्छाईंदैछ ? नेपालको सरकार किन यत्तिका समयसम्म यो सब चुपचाप हेरिबसेको छ र भारतले किन तत्काल त्रुटि सच्याउने प्रयास तदारुकताका साथ गरेन ? हो यसपाली न्यूयोर्क यसै विषयमा बोल्दैछ दुवै देशका लागि ।
नेपालमै बसेर यो पढ्दा या सुनिँदा ‘न्यूयोर्कमा नेपालित्व’ ! एक विश्मयादिबोधक अर्थ लाग्ला तर संसारको जुनै ध्रुबमा पुगे पनि नेपाली एउटा यस्तो जात हो जसको हृदयबाट नेपालित्व उखेलेर फ्याँक्न सक्ने कुनैपनि आविष्कार आजसम्म विज्ञान वा अध्यात्मले गरेको छैन ! त्यसैले संसारको यो ‘अग्लो डाँडा’मा उभिएर हामी कराउँदैछौं नेपाल सरकार र भारत सरकारले सुन्नेगरी कि देशको सिमानामा भइरहेको यो ‘सौदावाजी’ को अर्थ के हो ? किन चुपचाप छन् दुवै देश ?? समाधान तत्काल खोजियोस् ! हामी यही भन्न र सुनाउन भेला हुँदैछौं । अनि यसको जानकारी हामी संयुक्त राष्ट्रसंघलाई गराउँदैछौं र भन्दैछौं कि ‘संसारको यो ठूलो र स्वतन्त्र निकायले आफ्नो आँखा खोलिराखोस्, एसियाको त्यो भूमिमा छलछाम भइरहेको छ !’
यही उदेश्यसाथ हामी न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअघिल्तिर यही सोमबार विहान ११ वजे भेला हुँदैछौं । इतिहासको यो खास परिस्थितीमा देशनिमित्त सबैको उपस्थिती हुने आसा गर्दछौं ।