मिती र समय : सन् २०२०, जनवरी १३, सोमबार, विहान ११:३० बजे ।
स्थान : अमेरिकाको न्यूयोर्क, मानह्याटन, संयुक्त राष्ट्रसंघको हेडक्वार्टर ठीकअघिल्तिर
परदेशिएका नेपाली नागरिकहरु यसरि इतिहास कोरिरहेका थिए कि एक जबर्जस्त ‘नागरिक–दम र दबाब’को आगो छातिमा बोकेर संसारको यो अग्लो संस्थाको आँगनबाट चर्कोचर्को स्वरमा गुन्जिइरहेका थिए “हामी जहाँसुकै होऔं, नेपाललाई माया गर्छौं । सहहृदयी छिमेकी बन इण्डिया, नेपालको भूमि अतिक्रमण गर्न बन्द गर, हामीलाई सुन ए, संयुक्त राष्ट्रसंघ …” आदि … आदि ।
विहान ११:३० देखि १:०० बजेसम्म संयुक्त राष्ट्रसंघको आँगनमा नेपालको गहिरो माया छातिमा छचल्काएर नेपालको मिचिएको भूभाग फिर्ता गर्न माग गर्दै चिच्याएका नेपालीहरुको आवाजले इतिहासको एउटा हरफमा जबर्जस्त यो लेख्नेछ कि नेपालको सिमाना अब नेपाल मात्र रहेन यो त संसारका कुनाकुनामा अस्तित्वसहित फैलिएको नेपालीत्वको आयतन भएको छ, देश भएको छ, नेपालीत्व भएको छ । नेपालको भौगोलिक सिमानामा अतिक्रमण हुँदा नेपालीत्व दुख्ने छाति भएका नेपालीहरु संयुक्त राष्ट्रसंघमा गएर उभिनेछन्, हिजो नेपालमाथि नाकाबन्दी लगाउँदा जसै उनीहरु उभिएका थिए । अब नेपालीत्वको आयतन यतिधेरै विशाल भइसकेको छ कि हिजो गोर्खा बनेर संसारको ‘रक्षाकवच’ बनेका गोर्खालीहरु आज पृथ्वीका हरकुनामा असल र इमान्दारिताका साथ उच्चकर्म गरिरहेका छन् र नेपालीत्व फैलिएका छन् । जसको सिमाना संसारको सवभन्दा विशाल हुनसक्छ र यो नेपालीत्वको सिमाना, नेपालीको सिमाना हो, जो भूगोलभन्दा धेरैधेरै विशाल र बलियो छ ।
हो, नेपालीत्वको यही बल हो, यही रंग र कहिल्यै कमजोर नहुने यही तत्व हो जो नेपालीमा मात्र छ, त्यही लिएर अमेरिकामा वसोवास गर्दै आएका नेपालीहरु ‘जय स्वाभिमान’ भन्दै नेपालको भूगोल मिचेकामा छिमेकी भारतलाई त्यसो नगर्न र तत्काल नेपालको मिचिएको भूमि फिर्ता गर्न दबाब दिँदै संयुक्त राष्ट्र संघसमक्ष पुगेका हुन् । यो नेपालीत्वको सिमाना यतिधेरै फराकिलो र बलियो छ कि अब यो भौगोलिक सिमानाभन्दा धेरैधेरै गुणा ब्यापक भएर फैलिएको छ ।
जब भारतले नोभेम्बर २, २०१९ मा उसको देशको राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतीय भूभाग भएको गलत तथ्य सार्वजनिक गर्यो त्यसपछि नेपालभित्रबाट सुरु भएको बिरोधका स्वरलाई नेपालीत्व बोकेका नागरिकहरुले संयुक्त राष्ट्रसंघ अघिल्तिरसम्म ल्याएका हुन् । उनीहरुले सत्यतथ्य अध्ययनसहितको एक ज्ञापनपत्र प्रतिनिधीमार्फत राष्ट्रसंघका महासचिवलाई बुझाएका छन् । यसले नेपाललाई केही अप्ठ्यारो पारे संसारभरबाट नेपालीत्व जाग्नेछ भन्ने सन्देश स्थापित गर्दै ‘नेपालीत्व इतिहास’को नयाँ रेखा कोरेको छ ! यस्तो रेखा भूगोलको रेखाभन्दा हजारौं गुणाबढि शक्तिशाली हुनेछ । इतिहासको यो विशेष भूमिकाको संयोजन र अवसरप्रति जय स्वाभिमान गर्व गर्दछ ।