यो विषय भावनात्मकमात्र होइन । विश्व-महामारीको यो बिपत्तिले संसारका धेरै देशहरुको अर्थव्यवस्था र सामाजिक संरचना बदल्न सक्ने पूर्वानुमान भइसकेको छ । र, यस्तो बद्लाव सँधै नकरात्मक हुँदैन ! नेपालको मामिलामा यो सकारात्मक बनाउन सकिने आधार नै यो श्रृंखलाको मुख्य उदेश्य हो ।अनि यसका आधारहरु भनेकै भावनात्मक यथार्थ र यसले व्यवहारमा ल्याउनसक्ने परिवर्तन हो ।
आज बिपत्तिबीच संसारभर छरिएर रहेका नेपालीसन्तानहरु जसरी नेपालप्रति ममता र नेपालीत्व देखाइरहेका छन् यसलाई ब्यवहारमा एक अवसरका रुपमा सदुपयोग गर्ने योजना नेपाल सरकारले ल्यायो भने नेपालको अर्थव्यवस्था र सामाजिक संरचनामा पक्कै सकारात्मक परिवर्तन आउनेछ । तर, सरकारसँग यसप्रकारको योजना हुन जरुरी छ । जस्तो कि, बिपत्तिबीच देश, जन्मथलो र आफन्तहरु सम्झिएर छट्पटाइरहेका नेपाली सन्तानहरुमध्ये थोरै प्रतिशतमात्रले अब परदेशी संघर्षलाई बिराम दिएर स्वदेश फर्किने निर्णय लिए भने त्यस जनशक्तिलाई सदुपयोग गर्ने योजनाहरुबारे सोच्न जरुरी हुन्छ जुन सम्भावना एकदमै धेरै छ अन्यथा दुर्घटनाको अर्को खतरा कहाँनिर छ भने रेमिट्यान्सबाट धानिएको भनिने नेपाली अर्थतन्त्र यस्तो परिस्थितीमा झन् कमजोर हुने खतरा पनि रहन्छ ।
त्यसैले, संसारभर छरिएर रहेका नेपाली सन्तानहरुमा उद्वेलित यतिवेलाको भावनालाई व्यवहारिकरुपमा सकारात्मक परिवर्तनको दिशातर्फ लैजानेगरी योजनाहरु बनाउन सरकारलाई पनि मद्दत पुगोस् र ती तमाम् परदेशीहरु जो यतिवेला बिपत्तिमा संसारका कुनाकाप्चातिर छट्पटाइरहेका छन् उनीहरुको योजनालाई पनि सहयोग होस् भनेर हामीले यो श्रृंखलाको सुरुवात गरेका हौं ।
हामीलाई आसा छ, यो अभियानमा तपाईंको सहभागिताले दृश्य अदृश्यरुपमा नेपालीत्वलाई मलजल गरिरहेको हुनेछ ।
जय स्वाभिमान ।