अष्ट्रेलिया, महेश्वर शर्मा खासमा एक कविहृदयको नाम हो । सन २००८ देखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका शर्मा जिन्दगीमा मभन्दा ‘म’जस्ता म”हरुको आवाज बोल्ने कवि हुनुहुन्छ । छातिमा देश हुर्काएर परदेशिएका लाखौं नेपालीको प्रतिनिधिमात्र होइन खास विम्बको नाम हो महेश्वर । स्याङ्जा, भिरकोट नगरपालिका, पाखुरेमा जन्मिनुभएका उहाँको परिवार पछि देवदह, रुपन्देही झर्यो । र, त्यहाँदेखि सुरु भएको जीवनको लय भंगालिँदै र सम्हालिँदै आजको देउरालीसम्म आइपुगेको छ । जहाँ रहेपनि हम्मेशा साहित्यको विम्बात्मक लहरहरुबाट देशको सुन्दर भाव बक्ने कविलाई यो विश्वब्यापि महामारीले पृथ्वीकै हृदय भत्काएको आभास भएको छ र पनि आशा अनि सकारात्मकताका लागि उहाँ म र “म हरुको“ हृदय बोलिरहनुभएको छ । भन्नुहुन्छ ‘सबैभन्दा गहिरोसँग कालीगण्डकी दुखेको छ, जन्मभूमिको लोक झ्याउरे भुन्भुनाएको छ र देवदहको गहिरो अध्यात्ममा पृथ्वीकै शान्ति सल्बलाइरहेको छ ।’ हो, यस्तैवेला हो रहेछ जन्मभूमि सम्झिएर आशा पलाउने र बाँचेर केही गर्छु भन्ने भाव झन् बलियो भएर आउने ! उहाँलाई यस्तै भइरहेको छ, सुन्नुहोस् उहाँको गहिरो भावगल्छी