प्रेम बानियाँको फेसबुकबाट साभार:
मैले संसारमा खुब माया गर्ने आफ्नी आमाको अनुहार खोपेको भएपनि हुन्थ्यो । प्रिय श्रीमती, छोरीहरुको नामै खोपेको भएपनि अर्कै खुशी हुन्थ्यो । सारा मान्छेहरुलेजस्तै आफ्नै नाम लेखिदिएको भए पनि भई त जान्थ्यो । तर, मैले देसको झण्डा खोपेर जय स्वाभिमान लेखें, यो मेरो निजी चाहनाको निर्णय थियो किनकी मलाई जिन्दगीमा आफूले गर्न मनलागेका कुराहरु गर्दै बाँच्न मन पर्छ । मलाई यसै गर्न मन लाग्यो, गरें ।
तर, यस्को मत्लब यो होइन कि मैले लहडको झंकारमा यसो गरें र यो ट्याटुको कुनै अर्थ छैन । यो मेरो जीवनको खास सपनाको चरित्र हो । यसको कथा क्रमश भन्दै जानेछु तर संक्षिप्तमा यहाँ यतिचाही भन्छु कि एउटा नेपाली अर्को नेपालीसँग भेट हुँदा कम्तीमा आयातित अभिवादनहरुको परिबन्दमा जबर्जस्त पर्नुको सट्टा ऊ उभिएको उसको आफ्नो धरातलबाट अभिवादन गर्न सकोस् र भन्न सकोस्: जय स्वाभिमान साथी । यसको मत्लब फेरि यसो भन्नासाथ कोही स्वाभिमानी भइहाल्ने पनि होइन यो त आआफ्नो आकास र धरातलको इमान हो । यो त तपाईं हो ।
जिन्दगीभर कहिल्यै ट्याटुमोह नभएको मलाई यसपाली मनस्थितीले यस्तरी दपेट्यो कि आफू बाँचेको सपनाको यो तस्वीर जिन्दगीभर नमेटिनेगरी आफैमा लेख्न मन लाग्यो र लेखिदिएँ । न यो कुनै सस्तो लोकप्रियताको चिच्याहट हो, न आफूलाई राष्ट्रवादी देखाउने ढोंग, मोह न त चाहना नै । सिर्फ, आफ्नै सपनाको चरित्र कोरिदिएँ आफ्नै पाखुरामा ।
अब सपनाको छोटो कुरा गरौं,
निधारमा स्ट्याम्प लगाएजसरी म वर्षौंवर्षदेखि स्वाभिमानको कथा भन्दैभन्दै आएको छु, टिभी, पत्रपत्रिका, पुस्तकदेखि अरु धेरै आयामहरुमा, गाउँगाउँहरुमा, शहर र वस्तीवस्तीहरुमा । म स्वाभिमान सफल भएको हेरेर मर्न चाहन्छु । जबसम्म एउटा नागरिक स्वाभिमानी बन्न सक्दैन, ऊ देशभक्त पटक्कै बन्न सक्दैन । जसरी एउटा देश स्वाभिमानी बन्न सक्दैन उस्को राष्ट्रियता निरीह हुन्छ, पराधीन, कमजोर र अरुनियन्त्रित हुन्छ । जस्तो कि हामी ।
हो, यहीँनिरको दोभानमा बसेर मानिसहरु स्वाभिमान र राष्ट्रियताको पानी पहिचान गरिरहेका छैनन् । स्वाभिमानी हुनु भनेको राष्ट्रवादी हुनु होइन । हुनु हुन पनि सक्छ । तर, हो नै चाहीँ होइन । एउटा सत्यचाहीँ के हो भने यो बाटो हिडियो भने राष्ट्रियता र देशभक्ती बलियो हुन्छचाहीँ हो । त्यसैले मैले कोरेको सपनाको चाह यो हो कि सवभन्दा पहिला एउटा मानिस स्वाभिमानी बन्न सकोस्, त्यसपछि राष्ट्रवादी । सवभन्दा पहिला एउटा देश स्वाभिमानी बन्न सकोस् त्यसपछि राष्ट्रभक्तीको प्रेम फैलाओस् । जिन्दगीभरको मेरो लडाईं यस्मै छ, रहनेछ ।
र, फर्केर ट्याटुमाः संसारमा स्वाभिमानलाई प्रतिबिम्बित गर्ने सवभन्दा शक्तिशाली इतिहास बोकेको प्रतीक केही छ भने त्यो मलाई नेपालको राष्ट्रझण्डा बाहेक अरु केही लाग्दैन । यो इतिहासको बिम्व हो, वर्तमानको झिल्के राष्ट्रवाद होइन । त्यसैले राष्ट्रझण्डा । संक्षेपका केही कारणहरु र तथ्यहरु हुन् यी आफ्नै ट्याटुका ।
पृष्ठभूमिः
जब मनमा आयो म राष्ट्रझण्डासहित जय स्वाभिमान खोप्नेछु पाखुरामा, त्यसपछि राम्रो अक्षर लेख्ने को होला सोचें, प्रिय पोखरेली साहित्यकार प्रकट पंगेनी शिव Prakat Pageni Shiva लाई सुझाए प्रिय डम्बर रसिक भारती Damber Rasic Bharati ले अनि प्रकट पंगेनीले लेखे जय स्वाभिमान । त्यसपछि झण्डाको आकृति र यो सम्पूर्णको जिम्मेवार बने मेक्सिकोका मेरा मित्र । जसले निकै मिहेनत गरेर खोपेका हुन् जय स्वाभिमान । अनि तस्वीर लिने आफ्नै मान्छे Haridevi Rokaya
यसरी हेर्दा भोलि कसरी पनि आलोचना गर्न सकिन्छ भने, अमेरिकामा बसेर मेक्सिकनले पाखुरामा खोपिदिएको ट्याटु देखाएर राष्ट्रवादी भइन्छ ?
तर, फेरि पनि तेहेर्याएर भन्छु : मैले आफूलाई राष्ट्रवादी देखाउनका लागि वा देखाइरहन पर्ने परीक्षामा म छैन जेजति योगदान गर्नसकें आवाज र अक्षरहरुबाट कोशिस गरें परिवर्तनखातिर । अझै, एक बृहत्तर योजनाका साथ देशमा परिवर्तनको सानो भएपनि दियो बालौंला भन्ने संकल्प छ र प्रयासरत छु यसभन्दा बढी मलाई आफ्नै सपनाले थिचेको छ, यही स्वाभिमान सपना । म स्वाभिमानी भएर स्वाभिमान नेपाल र नेपाली हेर्न चाहन्छु ।
जय स्वाभिमान ।